नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ
गमगढी ,मुगु
देशको झण्डै दुई तिहाई जनसंख्या, रोजगारी तथा जिविकाको लागि कृषि क्षेत्रमा निर्भर रहेको तथा कूल गार्हस्थ उत्पादन (आधारभूत मूल्यमा)को वृद्धिदरमा करिब २०.२ प्रतिशत (आर्थिक सर्वेक्षण, २०७७/०७८) योगदान रहेको कृषि क्षेत्रको विकास विना देशको विकास असम्भव प्रायः छ। साना कृषकहरुको बढी संलग्नता रहेको र निवार्हमुखी कृषि प्रणालीबाट गुज्रिरहेकाले कृषि क्षेत्रमा संलग्न श्रमिकहरुको उत्पादकत्व निकै कम रहेको छ र कृषिमा व्यवसायिकरण एवं विविधिकरण हुन सकेको छैन । आर्थिक रुपले सकृय जनशक्ति दिनानुदिन विदेशिने क्रम बढ्दै जाँदा कृषि क्षेत्रमा बढ्दै गई रहेको श्रम शक्तिको अभाव,कृषि उत्पादनमा बढ्दो उत्पादन लागत, बढ्दो जग्गाको खण्डिकरण, घडेरीकरण, उर्वर कृषि भूमिको गैर कृषि प्रयोजनमा बढ्दो उपयोग, तथा जलवायु परिवर्तनको नकारात्मक प्रभाव, उत्पादनका सामाग्रीहरुको अपर्याप्त आपूर्ति, ग्रामीण तथा भौतिक पूर्वाधारहरुको अप्रयाप्तता, साना, खण्डित र अव्यवस्थित भू-उपयोगको अवस्था, आवश्यक ज्ञान, प्रविधि तथा श्रमशक्ति सर्वसुलभ नहुनु, उत्पादनमा विविधिकरण, प्रतिस्पर्धी र बजारमुखी हुन नसक्नु, जीवनाशक विषादीको सुरक्षित प्रयोगबारे पर्याप्त जानकारी नहुनु, अनुसन्धान, शिक्षा र प्रसार बीचको त्रीपक्षीय सम्बन्धलाई मजबुत तुल्याई अनुसन्धाबाट विकास भएका प्रविधिहरु पर्याप्त मात्रामा बिस्तार हुन नसक्नु जस्ता कारणहरुले कृषि क्षेत्रमा आशातित उपलव्धि हासिल हुन सकेको छैन ।
कृषिजन्य उत्पादन एवं व्यापारमा प्रतिस्पर्धा, व्यवसायिकरण, यान्त्रिकरण, विविधिकरणमा जोड दिनुका साथै आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्गहरुलाई समेत प्राथमिकता दिई सरकारी, सहकारी, नीजि साझेदारीको अवधारणा अंगिकार गर्दै कृषि पेशालाई सम्मानजनक बनाई आय तथा रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, सुधारात्मक व्यापार सन्तुलन, दिगो र सन्तुलित विकास, खाद्य तथा पोषण सुरक्षा र कृषि क्षेत्रको रुपान्तरण मार्फत आर्थिक रुपान्तरण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु आजको प्रमुख आवश्यकता रहेको छ।
यिनै पृष्ठभूमिलाई मध्यनजर गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली र बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ।